दफा
वर्तमान स्थिति

२. वर्तमान स्थिति

पर्यटकीय गन्तव्य स्थल तथा पर्यटकीय सम्पदा संरक्षण, पर्यटकको सुरक्षा, सेवा सुविधाको संख्यात्मक र गुणात्मक वृद्धि, पर्यटकीय पूर्वाधार विकास सम्बन्धी विषयमा सरकार तथा निजी क्षेत्र बीच समन्वयात्मक भूमिका रहेको छ । तथापि स्रोत र साधनको बाँडफाँड र
उपयोग जस्ता नीतिगत विषय तथा सडक, खानेपानी, विद्युत, सञ्चार जस्ता पूर्वाधार निर्माणमा प्रत्यक्ष रूपमा संलग्न निकाय र संस्था बीचको समन्वयमा अपेक्षित प्रभावकारिता देखिन सकेको छैन । पर्यटन पूर्वाधार विकास, सञ्चालन र प्राप्त लाभको बाँडफाँडमा स्थानीय समुदाय र नागरिकको भूमिका, मूल्य, मान्यता र स्वामित्वको विषय उचित रूपमा सम्बोधन हुन नसक्दा सरकारी लगानीमा निर्माण र विकास भएका पूर्वाधारको दिगो रूपमा उपयोग हुन सकेको छैन । पर्याप्त मात्रामा पर्यटकको आगमन भएमा पूर्वाधारको विकास गर्ने वा पूर्वाधारको विकास भएमा पर्यटकको संख्यामा बृद्धि हुने विषयमा देखिएको अन्योलता यथावत रूपमा रहेको छ । पर्यटक स्थलमा पर्यटक, स्थानीय समुदाय र नागरिक बीच अपेक्षित समन्वय कायम हुन नसकेको कारणबाट यदाकदा विसँगति देखिने गरेको छ । द्वन्दकालमा क्षतिग्रस्त पर्यटन विकाससंग सम्बद्ध संरचनाको पुनर्निर्माण एवं विस्तारमा ध्यान केन्द्रित गर्नु पर्ने भएको छ ।